म को हुँ?

मनुष्यहरू आफ्नो जीवनमा कतिपय समस्याहरूलाई समाधान गर्दछन् र त्यसको फलस्वरूप पुरस्कार पनि पाउँछन् तर एउटा साधारण समस्याको हल कसैले पनि जानेको छैन - “म को हुँ?” तथापि प्रत्येक मानिसले दिनभरी - “म..म..” भनी नै रहन्छ। तर उसलाई “म” भन्ने को हो भन्ने प्रश्न सोध्यो भने यही उत्तर दिन्छ कि “म” हरिबहादुर हुँ वा श्यामप्रसाद हुँ.......। 

तर विचार गरेर सोच्यो भने यो त शरीर को नाउँ हो। शरीर “मेरो” हो, तर “म” त शरीरबाट अलग हुँ ! “म” आत्मा हो, यही एउटा सानो समस्याको व्यावहारिक समाधान नजानेको कारणले आज सबै मानिसहरू देहभानमा छन् र हर मनुष्य  काम, क्रोधादि विकारहरूको वशमा परेका छन् तथा दुःखी छन्।

अब परमपिता परमात्मा भन्नुहुन्छ– “आज मनुष्यमा घमण्ड यति धेरै छ कि ऊ आफूलाई सम्झिन्छ “म धनी हुँ, लोग्ने हुँ, अफिसर हुँ........”, तर उसमा अज्ञान यति छ कि आफूलाई नै जान्दैन। “म को हुँ, यो संसाररूपी खेल आदि देखि अन्त्य सम्म कसरी बनेको छ, म यसमा कहाँबाट आएँ, कहिले आएँ, कसरी सुखशान्तिको राज्य गुमाएँ तथा परमपिता परमात्मा (यस सृष्टिको रचयिता) को हो?” यी रहस्यहरू लाई कसैले पनि जान्दैन। 

अब जीवनको यो समस्या वा पहेलीलाई पुनः जानेरमनुष्य आत्म-अभिमानी बन्न सक्दछ र त्यसको परिणाम स्वरूप नरलाई श्रीनारायण र नारीलाई श्रीलक्ष्मी पद प्राप्त हुन सक्दछ। साथै मनुष्यलाई मुक्ति र जीवनमुक्ति पनि प्राप्त हुन्छ। उसले सम्पूर्ण सुखशान्ति र पवित्रता पाउन सक्दछ।